काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाको पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुननिर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
‘चालू आर्थिक वर्षमा भुकम्पपछिको पुननिर्माणका लागि सरकारले ७४ अर्ब रुपैयाँ छुट्याएको थियो,’ सचिव श्रेष्ठले भने- ‘आर्थिक वर्षको चार/पाँच महिना वितिसकेकाले योजना आयोगले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो ।’
सरकारले बजेट भाषण गरेपछि योजना आयोगबाट कार्याक्रम स्वीकृत गराएर मात्रै खर्च गर्नुपर्ने चलन छ । केही समय अघि पुननिर्माण प्राधिकरण गठन भइसकेकाले स्वीकृत कार्यक्रमको कार्यान्वयन प्राधिकरणले नै गर्ने श्रेष्ठले बताए ।
प्राधिकरणको गठन नभएसम्मका लागि सरकारले पुननिर्माणको जिम्मा योजना आयोगलाई दिएको थियो ।
गत असार १० गते भएको नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय दाता सम्मेलनमा दाताहरुले ४ खर्ब रुपैयाँ ऋण तथा अनुदान सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । जसमध्ये ९१ ऋर्ब रुपैयाँका लागि सम्झौता भइसकेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनीले बताए ।
बजेटमा व्यवस्था गरिएको रकमको कार्यक्रमहरु योजना आयोगले स्वीकृत गरिसकेको र दाताहरुले प्रतिवद्धता गरेको एक चौथाई रकम पनि सम्झौता भइसकेकाले पुननिर्माणका लागि पैसाको अभाव नभएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आगामी माग २ गतेदेखि बैशाख १२ गतेसम्म पुननिर्माणको महा अभियान सुरु गर्ने घोषणा गरिसकेको छ । सोमबार बसेको प्राधिकरणको बैठकले रानीपोखरीबाट राष्ट्रपति विद्या भण्डारी र बुङमतीबाट प्रधानमन्त्री केपी ओलीले महाअभियानको उदघाटन गर्ने निर्णय गरेको छ ।