भद्रगोलले मलाई चिनायो


स्याङ्जा, चिन्नेवासमा जन्मिएका सागर लम्साल ‘बले’ नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला भद्रगोलका एक मुख्य कलाकार हुन् । शंकरदेवमा बीबीएस अध्ययनरत रहँदा एकदिन सागरले पुतलीसडकमा मोडलिङ एजेन्सीको कार्यालय देखे
। अचानक उनलाई मोडलिङ सिक्ने हुटहुटी चल्यो । मोडलिङको ज्ञान लिने क्रममै उनी अभिनयको कक्षा लिन नाट्यकर्मी वीरेन्द्र हमालकहाँ पुगेका थिए । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्साललाई निर्देशक आदित्य विक्रम लम्सालले चलचित्र ‘लोफर’ का निम्ति अवसर दिए । लोफरमा ‘बले’ कै चरित्रमा गरेको उत्कृष्ट अभिनय देखेपश्चात् उनलाई कुमार कट्टेल जिग्रि र अर्जुन घिमिरे पाँडेले भद्रगोलका निम्ति प्रस्ताव राखे । दयाहाङ राई, आर्यन सिग्देल आदिद्वारा अभिनीत लोफरमा सबैभन्दा बढी प्रशंसा सागरले नै बटुलेका थिए । त्यसपछि उनले चलचित्र लज्जामा पनि काम गरे । चलचित्रका प्रस्ताव पनि थुप्रै आए तर चित्त नबुझेर काम नगरेको सागरले बताए । करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका सागर कुनै समय अध्ययनकै निम्ति क्यानाडा जाने तयारीमा थिए तर भद्रगोलको ‘बले’ चरित्र लोकप्रिय भएपछि उनले त्यो अवसर छोडिदिए । हाल हरि निरौला ‘कक्रोच’ सँग जोडी बनाएर स्टेज प्रहसनका निम्ती देश विदेशका कार्यक्रमहरूमा सहभागी भैरहेका सागर विज्ञापन, सर्ट मुभी तथा मोडलिङमा पनि सक्रिय छन् ।
हास्यकलाकारका रूपमा आफूलाई कत्तिको सफल मान्नुहुन्छ ?
‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ, आज नबाँचिने भैयो’ जस्ता सुस्त गतिमा बलेले बोल्ने संवाद धेरै दर्शकले रुचाउनुभएको छ । जिग्री बोरो र साङ्लो बोरोको टिममा बले थपिनेबित्तिकै रौनक बढ्छ भन्ने प्रतिक्रिया पाएको छु । यद्यपि म अहिले संघर्षकै क्रममा छु, सफल भैसकेको छैन । मैले अझै धेरै मेहनत गर्नु छ । मेरो सिर्जनात्मक क्षमता दर्शकले रुचाइदिनुभयो भने एक दिन अवश्य सफल हुनेछु ।
ठूलो पर्दाबाट सानो पर्दामा आउनुभयो, अब फेरि चलचित्रमा काम गर्ने योजना छ कि ?
म चलचित्रबाटै अभिनय क्षेत्रमा प्रवेश गरेको कलाकार हुँ, त्यसैले चलचित्रमा निरन्तर काम गर्ने मन छ । अहिले एउटा चलचित्रको स्क्रिप्ट अध्ययन गरिरहेको छु, सम्भवत: त्यो चरित्रमा अभिनय गर्छु तर चलचित्रमा काम गरे पनि टेलिभिजन भने छोड्दिनँ । मलाई लोकप्रिय बनाउन भद्रगोलले ठूलो भूमिका खेलेको छ ।
भद्रगोलको ‘बले’ को चरित्रलाई अझ सशक्त बनाउन केही सोच बनाउनुभएको छ ?
बलेको चरित्रलाई दर्शकहरूले रुचाउनुभएको छ । अब मैले बलेले सुस्त क्यारेक्टरमा मात्र होइन, एक्टिभ क्यारेक्टरमा पनि उत्तिकै ससक्त अभिनय गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्नु छ । त्यो भूमिका यथावत् राख्दै अबका अन्य प्रोजेक्टमा नयाँ क्यारेक्टरमा आफूलाई प्रस्तुत गर्ने योजना छ । अहिले नै पनि मसँग लोकप्रिय हुने फरक क्यारेक्टरको कन्सेप्ट छ । दर्शकले त्यो क्यारेक्टरमा मलाई चाँडै देख्न पाउनुहुनेछ ।