२०७२- नेपाली सेनाको प्रधानसेनापतिमा विहीबारदेखि यहाँका राजेन्द्र क्षेत्रीले जिम्मेवारी सम्हालेपछि बधाई दिन विहीबार नै गाउँले काठमाडौं पुगेका छन् ।
आफूसहितका करिव ३५ जना गाउँले विहानै भेला भएर प्रधानसेनापती क्षेत्रीलाई बधाई दिन क्षेत्रीका दाई (काईला बुबाको छोरा) नरेन्द्रले राजधानीबाट फोनमा बताए । गाउँका इष्टभित्रहरुले विहानैदेखि आफूहरुलाई फोन गरेर बधाई दिने गरेको समेत उनले बताए ।
'आफ्नो गाउँको मान्छे प्रधानसेनापती भएपछि बधाई दिन सबै काठमाडौं जानु पर्छ भन्दै गाउँलेहरु समेत यहाँ आएका छौं,' पूर्व प्रहरीनिरीक्षक ६१ वर्षीय नरेन्द्रले भने, 'सबैले दिनमा घरमा नै भेट गरेर बधाई दियौं ।'
आफ्ना देवर नेपाली सेनाको प्रमुख पदमा पुगेको खुसीयालीमा दिनभर घरासयी कामकाजको समेत थकान महशुस नभएको तुलसीले बताईन् ।
'यस्तो खुसी त मान्छेलाई विरलै मिल्छ होला,' तुलसीले भनिन्, 'गाउँले र ईष्टमित्र खुसी भएको देख्दा निकै आनन्द पो लाग्दो रहेछ ।'
गाँउ आउँदा प्रधानसेनापती क्षेत्री आफुहरु बस्दै आएको चोकचिसापानी ८ दुधेकुनाको गाउँको घरमा आई रहने गरेको उनीहरुले बताए । क्षेत्रीले गाउँमा रहेका आफूहरुको स्वास्थ्य अवस्था र गाउँघरको बारेमा ७/८ दिन विराएर मोवाईलमा सोधीखोजी गर्ने गरेको उनीहरुले बताए ।
आफ्नो छोरा प्रधानसेनापती भएको देखेर मर्ने धोको पुरा भएको प्रधानसेनापती क्षेत्रीका काका स्थानीय ७० बर्षीय हरिन्द्रले बताए । आफ्नो अधिकांश परिवारले नेपाली सेना भएपनि सर्वोच्च पदमा छोरा राजेन्द्र पुगेकोमा आफूलाई समेत गर्व महशुस भएको उनले बताए ।
'कुनै छोरा त प्रधानसेनापती होलान् नी भन्ने लागेको थियो,' हरिन्द्रले भने, 'आखिर राजेन्द्र भई छाड्यो । मेरो लागि यो भन्दा खुसीको कुरा अरु के होला ।'
आफ्नै गाउँको भाई प्रधानसेनापती भएपछि गाउलेहरु स्वतस्फुर्त भेला भएर बधाई दिन आज नै काठमाडौं हिडेको स्थानीय तथा चोकचिसापानी ८ वडा नागरिक मञ्चका संयोजक रामकृष्ण ढकालले बताए । आफूहरुले बधाई दिन काठमाडौं जाने यस अघि नै निर्णय गरिएको उनले बताए ।
'गाउँलेहरु भेला भएर बधाई दिन यहाँ आएका हौं,' उनले भने, 'बधाई दिन पाईयो । निकै खुशी लागेको छ । अब गोदावरी नुहाएर जानु पर्ला भन्ने योजनामा छौं ।'
यस अघि असार १९ गते क्षेत्री गाउँ आएका थिए । उनी सहित गोपाल प्रमिला ट्रष्टद्वारा निर्माण गरिएको खानेपानी उद्घाटन गर्न क्षेत्री सहित ट्रष्टका अध्यक्ष ठुला दाजु मानार्था उपरथी रमीन्द्र गाउँ आएका हुन् । पुर्वमहासेनानी बुबा गोपालबहादुरको ७४ बर्षको उमेरमा २०५९ सालमा र बर्षदिनपछि आमा प्रमिलाको देहवशान भएपछि स्मृतीमा छोराहरुले 'गोपाल प्रमिला ट्रष्ट' स्थापना गरी सामाजिक काम गर्दै आएका छन् । अवकाशपछि गोपालबहादुरले २०११ सालमा गाउँमा सरस्वती निमावी स्थापना गरेका थिए । गोपालबहादुर दम्पत्तिका चार भाई छोरा मध्ये साईलो रतीन्द्र कर्णेलबाट अवकाश हुन् भने कान्छो रवीन्द्र भरतपुरमा व्यापार गर्छन् । क्षेत्रीको गाउँ जान डुम्रेबाट करिव १५ किलोमिटरको दुरीमा पर्ने कालीमाटीबाट ५ किलोमिटर कच्ची मोटरमार्गको यात्रा गर्नु पर्छ ।