नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा वर्तमान महासचिव जीवनरामले उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई पराजित गरे ।
जीवनरामले २६ मध्येको १७ मत पाएर विजयी भएका हुन् । यस्तै लामा टेन्डी शेर्पा महासचिवमा निर्वाचित भएका छन् । उनले पनि १७ मत प्राप्त गरेका छन् ।
महासचिवका अन्य दुईले प्रत्यासी छिमि उर्गेन लामाले ८ मत र दिपराज गुरुङले मात्रै १ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा धीरेन्द्र प्रधान, पुरेन्द्रविक्रम लाखे, ज्योती राणा र राजेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा निर्विरोध रतन टण्डन निर्वाचित भएका छन् ।
सह-महासचिवमा चतुरानन्द वैद्य र राजिव श्रेष्ठले समान १३–१३ मत प्राप्त गरेका छन् । लक्की 'ड्र' मा राजिव सहसचिवमा चुनिए । त्यस्तै सदस्यहरुमा ट्रायलथुलनका निलेन्द्रराज श्रेष्ठ, एथ्लेटिक्सका संजिव तुलाधर, कुस्तीका समिम मियाँ अन्सारी, पौडीका अशोक बज्राचार्य, जुडोका दीपकहर्ष बज्राचार्य, फेन्सिङका सुनील श्रेष्ठ, व्याडमिन्टनका रमेश श्रेष्ठ, उसुका आङडेन्डी शेर्पा र ह्यन्डबलका तेजबहादुर गुरुङ निर्वाचित भएका छन् ।
नौ सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका थिए ।
नवनिर्वाचित पदाधिकारीहरुको कार्यावधी ४ वर्षको हुनेछ र यसको सुरुवात अक्टोबर महिनाबाट हुने ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिए ।
प्रकाशित: भाद्र १७, २०७२