जिल्ला शिक्षा कार्यालय रामेछापले आर्थिक वर्ष २०७१।०७२ मा २६ करोड ९२ लाख १३ हजार तीन सय रुपैयाँ निकासा गरी २२ करोड ८९ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । कार्यालयले प्रारम्भिक वाल विकास तथा शिक्षा, विद्यालय शिक्षामा पहुँचको सुनिस्चितता, साक्षरता तथा निरन्तर शिक्षा र शैक्षिक गुणस्तर वृद्धि लगायतको शीर्षकमा सो रकम खर्च गरेको हो ।
कार्यालयले गएको वर्ष सय वटा विद्यालयको भौतिक पूर्वाधार सुधार गरेको थियो । त्यसैगरी ६ सय शिक्षकलाई तालिम प्रदान गरिएको थियो । साक्षरताकार्यक्रमबाट ४ हजार ८ सय जना गएको वर्षमा साक्षर भएको कार्यालयले जनाएको छ । करिव ३० हजार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने विज्ञान प्रयोगशाला ९ ओटा विद्यालयमा,स्मार्टबोर्ड ६ ओटामा र पुस्तकालय १० ओटा विद्यालयमा स्थापना गरेको थियो । १० ओटा विद्यालयमा बहुकक्षा कार्यक्रम लागु गरिएको कार्यालयले जनाएको छ । २६ हजार बालबालिकालाई विद्यालय पोशाक तथा झोला दिइएको थियो । एसएलसी परीक्षाको नतिजा १४ प्रतिशतले वृद्धि भएको समेत कार्यालयले आफ्नो उपलब्धिमा राखेको छ । साथै शिक्षा कार्यालयले वेरुजु रकम समेत फछ्र्यौट गरेको छ । ४ करोेड ८९ लाख वेरुजु रहेकोमा ४५ प्रतिशत रकम गएको वर्ष फछ्र्यौट गरेको थियो ।
यस वर्षबाट १ हजार ५ सय सिमान्तकृत बालबालिकाले दिवा खाजा वापतको रकम समेत प्राप्त गर्ने कार्यालयले जनाएको छ । जिशिकाबाट निकासा गरिएको रकम तथा गैरसरकारी संस्थाहरुबाट अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । गैरसरकारी संस्थाहरबाट १५० टिएलसी निर्माण भइ थप १६० टिएलसी निर्माण गर्ने कार्य शुरु भएको कार्यालयले जनाएको छ ।