राप्रपामा चन्द र राणा पक्षको विवाद चुलिएपछि प्रधानमन्त्री सुशील कोइराला समेत अफ्ठ्यरोमा परेका छन् । चन्द पक्षले अपदस्थ गरेको घोषणा गरेपछि पशुपति समशेर राणा पक्षले थापालाई मन्त्रीबाट हटाउने निर्णय गरेको थियो ।
लगतै चन्दले पार्टीको बहुमत केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष बनेको जानकारी प्रधानमन्त्रीलााई पठाएका छन् । ‘पशुपति समशेर राणाले अध्यक्षका हैसियतमा गर्ने सबै काम अवैधानिक हुने पत्र प्रधानमन्त्री र सभामुखलाई पठाइसकेका छौं’ सहप्रवक्ता किरण गिरीले अनलाइनखबरसँग भने ।
चन्दले आपूर्तिमन्त्री सुनिलबहादुर थापा र राज्यमन्त्री गिरीबहादुर केसीलाई निरन्तरता दिने निर्णय भएको पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
पार्टीका पूर्व अध्यक्ष स्व. सूर्यबहादुर थापा पक्षको साथ पाएपछि राप्रपा केन्द्रीय समितिमा लोकेन्द्रबहादुर चन्दको पक्षमा बहुमत पुगेको छ । चन्द पक्षले राणालाई अपदस्थ गर्दै चन्दलाई अध्यक्ष घोषणा गरेका छन् भने मान्यताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् ।
तर, राणा पक्षले पनि आफूहरुको पक्षमा बुहमत भएको दाबी गरेको छ ।