काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेलापारेको प्रहरीको भनाइ छ। आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ ।
उनीहरू प्रहरी इन्काउन्टरमा मारिएका डन घैँटको समूहका हुन् । साजन हत्या अभियोगमा मोष्ट वान्टेडसमेत हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरूले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरू फेलापरेको बताए । ‘आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी खनालले भने, ‘थप अनुसन्धान हुँदै छ ।’ प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि आक्रमण योजना बनाएको नयाँ पत्रिकामा खबर छ ।
पक्राउ परेका कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्तकर्ताको काम गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख रुपैयाँको डिल भएकोसमेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रूपमा काम गर्दै आएका थिए ।
आक्रमण गर्न विदेशी बोलाएको प्रहरीको दाबी
एसएसपी सर्वेन्द्र खनाल भन्छन्– उनीहरूले प्रहरीमाथि आक्रमण गर्ने योजना बनाएको टेलिफोन रेकर्ड र एसएमएसहरू फेला परेको छ । आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान हुँदै छ ।
न्युरोडमा अन्डरग्राउन्ड थिए साजन गुरुङ
साजन गुरुङ पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्टवान्टेड थिए । उनी न्युरोडको एक घरमा गोप्य रूपमा बस्दै आएका थिए । सबै कोठामा ताला लगाइएको घरमा मंगलबार चारपटक सर्च गर्दा मात्र प्रहरीले उनी बस्ने कोठा पत्ता लगायो ।