काठमाडौं । आन्दोलनमा अहोरात्र खटिने प्रहरीहरुले खाजासमेत खान नपाएको भन्दै गृहमन्त्री वामदेव गौतमले चिन्ता व्यक्त गरेका छन् । सरकारले प्रहरीलाई तत्कालै इन्धन, खाजाखर्च र भत्ताको व्यवस्था गरेर मनोबल बढाउनुपर्ने गृहमन्त्री गौतमको प्रस्ताव छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री गौतमले प्रहरीले भोगिरहेको समस्याबारे कुरा राख्दै उनीहरुलाई प्रोत्साहनको खाँचो औंल्याएका हुन् । स्रोतका अनुसार क्याबिनेटमा गृहमन्त्री गौतमले भनेका थिए- ‘फिल्डमा खटिएका प्रहरीले दुःख पाइरहेका छन्, उनीहरुले खाजासमेत खान पाएका छैनन्, गाडी र इन्धनको अभाव हुने गरेको छ ।’
सुविधाको प्याकेज तयार पार्ने जिम्मा गृहलाई
प्रहरीलाई मनोबल बढाउने गरी भत्ताको व्यवस्था गर्नुपर्ने गृहमन्त्रीको गौतमको प्रस्तावपछि सोमबारको क्याबिनेटले यसबारे खाका तयार पार्ने जिम्मा गृह मन्त्रालयलाई सुम्पेको छ । गृहले प्रहरीलाई के कस्तो सुविधा र भत्ता दिने भन्ने विषयमा प्रस्ताव तयार पार्ने बताइएको छ ।
गृहको प्रस्तावलाई क्याबिनेटले पारित गरेपछि आन्दोलनमा खटिने प्रहरीले भत्ता पाउनेछन् । यस्तो भत्ता मधेस र राजधानीका सडकमा खटिने प्रहरीले पनि पाउने छन् ।
मन्त्रिपरिषद बैठकमा गृहमन्त्री गौतमले मधेस आन्दोलनमा खटिएका प्रहरीको प्रशंसा गर्दै उनीहरुले ज्यादै सास्ती ब्यहोर्नुपरेको बताएका थिए । आन्दोलनमा खटिएका कतिपय ठाउँमा प्रहरीले खाजा खानका लागि सिडियो कार्यालयसँग माग्नुपर्ने त कतै गाडी नपाइने वा गाडी पाए पनि पेट्रोल किन्ने पैसाको अभाव हुने गरेको मन्त्री गौतमले बैठकमा रिपोटिङ गरेका थिए ।
प्रहरीको गिर्दो मनोबल
करिब एक महिनादेखि तराई मधेसको आन्दोलनमा खटिइरहेका प्रहरी जवानहरुको मनोबल निकै कमजोर हुनेथालेको रिपोर्टिङ फिल्डबाट गृहमन्त्रालयमा आइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
विशेषगरी कैलाली घटनामा एसएसपी लगायतका प्रहरीको मृत्यु हुनु र पचासौं प्रहरी घाइते हुनुले उनीहरुको मनोबल कमजोर बनेको स्रोत बताउँछ ।
त्यसयता बीरगञ्ज, कलैया, जनकपुरलगायतका स्थानमा भएका झडपहरुमा प्रहरीहरु भोकभोकै खटिने गरेका छन् । पसलहरु बन्द हुने भएकाले खानेकुरा किन्न पनि समस्या हुने गरेको छ ।
हतियारको अभाव चर्चा
त्यसो त कैलालीमा झडप हुँदा प्रहरीलाई हतियारको साटो बाँसको लौरोमात्रै दिइएको विषयले पनि यतिबेला सुरक्षा निकायमा चर्चा पाएको छ ।
प्रहरीलाई हतियार, गोलीगठ्ठा, साना हतियार र अश्रुग्यासका सेलहरुको थप व्यवस्था गरिनुपर्ने प्रहरी संगठनबाट गृहलाई दबाव आउन थालेको स्रोतले बतायो । ‘तर, सोमबारको बैठकमा प्रहरीको हतियार खरिद गर्ने सम्बन्धमा भने कुनै निर्णय भएको छैन,’ गृहमन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो-‘बैठकमा प्रहरीको खाजा खर्च, इन्धन र प्रेत्साहन भत्ताको विषयमा मात्रै छलफल भएको हो ।
दुबै पक्ष थाके
स्रोतका अनुसार मधेसमा प्रहरीमात्रै होइन, आन्दोलनकारीहरु पनि थकित बन्न थालेका छन् । प्रहरीसँग हुने मुठभेठबाट आन्दालनेकारीहरु पनि उत्तिकै संख्यामा घाइते बनेका छन् । किन यसरी घाइते बन्ने र कहिले आन्दोलन सफल होला भन्ने संशयका कारण आन्दोलनकारीको मनोबलसमेत गिर्दै गएको गृह मन्त्रालय स्रोतको विश्लेषण छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले पनि एक महिनासम्म आन्दोलन गर्दासमेत निकास ननिस्केको भन्दै अन्यौल र थकान महसुस गर्न थालेको सरकारी निश्कर्ष छ ।
तराई मधेसमा एक महिना लामो हडतालका कारण प्रहरी र आन्दोलनकारी मात्रै होइन, जिविकोपार्जन गर्ने सर्वसाधारण र व्यवसायीहरु पनि थकित र चिन्तित बनेका छन् ।