मधेसी मोर्चाद्वारा संविधानसभा बैठक बहिस्कार


काठमाडौं । सहमतिका आधारमा संविधान बनाउनु पर्ने माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान बैठक बहिस्कार गरेको छ ।
संविधानसभाको मंगलबारको बैठकको सुरुमा नै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले विशेष समय लिएर आफ्ना धारणा राखे । उनले मधेसमा दुई प्रदेशसहित १० प्रदेश होस् र सहमतिका आधारमा संविधान होस् भन्ने आफूहरुले चाहेको बताए ।

सहमतिको सहमति बनाउने र सेना फिर्ता गरेर वार्ताको प्रक्रियालाई सहज बनाउन आग्रह गरे । ‘सरकार एकातिर वार्ताको कुरा गरिरहेको छ । अर्कोतिर गोली चलाइएको छ । पन्चायतकालमा पनि त्यस्तो अवस्था थिएन’ उनले भने-‘पेलेर जाने स्थिति भएको छ । वार्ताका लागि सरकार गम्भीर छैन ।’
बहुमतका आधारमा संविधान बनाउने प्रयास भइरहेको भन्दै उनले यसले द्वन्द्व ल्याउने बताए । ‘थारु र मधेसलाई बिभाजन गरेर शासन गर्ने प्रवृत्ति थियो त्यो समाप्त भएको छ । मधेसी र थारुहरु एक भएका छन् । बहुमतको आधारमा जसरी बढिरहेको छ । यसबाट मुलुक ठूलो दुर्घटनामा जान्छ, उनले भने- ८० प्रतिशतलाई २० प्रदेशले शासन गर्न सक्दैन ।’
उनले मधेसी र थारु समुदायसँग विगतमा सम्झौता पालना गरी संविधान बनाउन र राष्ट्रिय एकतालाई बलियो बनाउन माग गरे ।
यादवले बोले लगतै मधेसी मोर्चामा आवद्ध चार दलका सभासदहरु बैठकबाट बाहिरिएका छन् ।
यसैगरी रुक्मिणी चौधरी नेतृत्वको पार्टीले पनि दफावार छलफल प्रक्रियामा भाग नलिने घोषणा गरेको छ ।