दसैंका लागि खाद्य संस्थानले २५ सय खसीबोका काठमाडौं ल्याउँदै








khasi-1काठमाडौं । दसैंलाई लक्षित गरेर नेपाल खाद्य संस्थानले यस वर्ष विगतको भन्दा बढी संख्यामा २५ सय खसीबोका काठमाडौं ल्याउने भएको छ ।
हरेक वर्ष दसैंमा उपभोक्तालाई सहुलियत दरमा खसीबोका उपलब्ध गराउँदै आएको संस्थानले यस वर्ष २५ सय खसी बोकाका साथै ५ सय च्याङ्ग्रासमेत ल्याउँदैछ ।

बन्दले तयारी प्रभावित
संस्थानले गत वर्ष पाँचसय मात्रै खसीबोका काठमाडौं ल्याएको थियो । यस वर्ष दाङ, नेपालगञ्ज, सुर्खेत, हैटौंडा, लहान लगायतका क्षेत्रमा संकलन गरिएका खसीबोका काठमाडौं ल्याइने संस्थानका प्रवक्ता श्रीमणीराज खनालले अनलाइनखबरलाई जानकारी दिए ।
च्याङ्ग्रा भने मुस्ताङबाट काठमाडौं ल्याइनेछ । तर, तराईमा लामो समयदेखि जारी बन्दले खसीबोका खरिदका लागि तयारी गर्न समस्या परेको खनालको भनाइ छ । बन्दका कारण खाद्य संस्थानका क्षेत्रीय डिपोहरुले स्थानीय क्षेत्रमा तयारी थाल्न सकेका छैनन् ।
मूल्य अझै अनिश्चित
बजारमा कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य बढाउन सक्रियहरुलाई निरुत्साहित गर्न दसैंमा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गरिएको संस्थानले जनाएको छ ।
संस्थानले घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका बिक्री वितरण गर्छ । यसवर्षको घटस्थापना असोज २६ गते परेको छ ।
खसीको मूल्य जिल्ला प्रशासनले तोक्ने
खसीबोका संकलन भएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै खसीबोकाको मूल्य तोक्ने भएकाले मूल्यबारे अहिले नै भन्न नसकिने संस्थानका प्रवक्ता खनालले बताए । खाद्य संस्थानले अघिल्लो दसैंमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ४ सय २५ रुपैयाँदेखि ६ सयसम्म तोकेको थियो ।
कर्णालीमा गेडागुडी खरीद
खाद्य संस्थानले दसैंका लागि लक्षित गरेर कर्णाली क्षेत्रमा गेडागुडी खरिद गर्न थालेको छ । संस्थानले दसैंतिहारमा बढी माग हुने भएकाले कर्णाली का विभिन्न जिल्लामा सिमी, बोडी, फापर लगायतका खाद्यान्नको खरिद सुरु गरेको हो ।
संस्थानले नख्खु र थापाथलीमा रहेका बिक्री केन्द्रमार्फत गेडागुडी बेच्ने प्रवक्ता खनालले जानकारी दिए ।