२०७२- लोकगायिका टिका पुनले अहिलेसम्म ४ हजार गीत गाइसकेकी छिन् । १० वर्षअघि काठमाडौं आएर एउटा दोहोरी साँझमा गाउन थालेयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
उनले एल्बम निकालेर व्यवसायिक गायन प्रारम्भ गरेको जम्मा ७ वर्ष मात्र भएको छ । त्यसयता उनका लागि जीवन भन्नु नै रेकर्डिङ स्टुडियो, स्टेज र गीत–संगीतको चिन्तन हो । नेपालका सबैजसो जिल्ला र नेपालीहरू कार्यरत सबैजसो देश पुगिसकेकी पुन नेपालका चर्चित पाँच लोकगायिका मध्ये एक हुन् । यस पटकको तीजमा मात्र २४ वटा तीज गीतमा स्वर दिएकी टिकाले साप्ताहिकसँग आफ्नो जीवन संघर्ष र लोकगीतभित्रका कथा–व्यथा दिल खोलेर सार्वजनिक गरेकी छिन् ।
तुलनामा लोकसंगीत निकै लोकप्रिय छ तर यसका स्रष्टा आधुनिक गीतका गायकजस्ता लोकप्रिय हुँदैनन्, किन होला ?
मेरो विचारमा लोकसंगीतका स्रष्टा धेरै छन् । मेरो आँकलनमा लोकगायिका नै २–३ सय होलान् । जबकि राम्रो सुगम संगीत गाउने गायक २०–३० भन्दा बढी देख्दिनँ । हाम्रो गीत गाउँ–गाउँमा हिट हुन्छन् । सुगम संगीत सहर–बजारमा बढी सुनिन्छन् । गाउँ–ठाउँका मानिसहरू नै लोकदोहोरी धाउँछन् । उनीहरू गायक–गायिकामा भन्दा लोकसंगीतमा रमाउँछन् । लोकगीत गाउने समूह ठूलो भएकाले यसका श्रष्ट्राहरू टाइमलाइटमा नआउनुभएको हो ।
नेपालमा दुई–तीन सय लोकगायिका अनि त्यति नै मात्रामा लोकगायक कसरी बाँचेका छन् ?
धेरैलाई लोकदोहरी रेस्टुराँले बचाएको छ । आजभोलि पाइरेसीका कारण क्यासेट बिक्री हुन छाडेकाले समस्या छ नत्र क्यासेट बेचेर नै धेरैको जीवन चलेको थियो । हामीजस्ता दर्जनौं गायक–गायिकालाई देशविदेशबाट निमन्त्रणा आएको आयै हुन्छ । मेरो विचारमा लोकसंगीतको प्रभाव निकै बढेको छ । मन पर्दैनथ्यो । आजभोलि काठमाडौंका नेवारहरूले पनि लोकदोहोरी सुन्न थाल्नुभएको छ ।
लोकदोहोरीले नेपालीहरूलाई किन यति धेरै आकर्षण गरेको होला ?
नेपाल सानो छ तर प्रत्येक क्षेत्रमा नयाँ–नयाँ भाकाका गीत सुन्न पाइन्छ । नयाँ–नयाँ शैली छ । जुन मानिस जुन क्षेत्रको छ, त्यो क्षेत्रका लोकगीतले त उनीहरूलाई त तान्छ नै, सुन्दै जाँदा फरक क्षेत्रका गीत पनि मन पर्न थाल्छ । लोकगीतमा जुन आफ्नोपन हुन्छ, आधुनिक, पप वा अरू भाषाको गीतमा हुँदैन । विदेश बस्ने नेपालीहरूलाई विदेश बसेपछि लोकसंगीतको महत्व थाहा हुन थाल्छ । काठमाडौं लोकगीतको केन्द्र हो । केही झ्याउरे बोकेर आउनुहुन्छ त कसैले टप्पालाई माझ्नुभएको छ । कोही देउडाको गेडीलाई लोकप्रिय बनाउँदै हुनुहुन्छ कोही सोरठी भाकामा रमाउनुहुन्छ । पञ्चैबाजाको फरक गीत हुन्छ, कौडाको फरक हुन्छ अनी सालैज्यूको मिठास फरक हुन्छ । यी सबै गीत लोकदोहोरी रेस्टुराँमा पाइन्छ ।
लोकदोहोरीलाई माया गर्नेहरू त छन् तर ती दोहोरी साँझहरूमा कलाकारहरूको अवस्था भने नाजुक देखिन्छ । तपाईंको अनुभव के छ ?
तपाईंले भनेको कुरा सही हो । सबै लोकगायक–गायिकाको पहिलो बाँच्ने थलो दोहोरी साँझहरू नै हुन् । ग्राहकहरू रक्सी खाएपछि जस्तो डिमान्ड गर्छन्, रेस्टुराँको मालिकले गायक–गायिकाहरूलाई त्यस्तै संगीत सुनाउन अनुरोध गर्छन् । कतिपय अवस्थामा गायक–गायिकाको अपमान हुने गरेको छ । तैपनि आज लोकसंगीत जसरी लोकप्रियताको शिखरमा छ, यो अवस्थामा ल्याउन यस्ता रेस्टुराँको ठूलो योगदान छ ।
तपाईं आज चर्चित लोकगायिकामा पर्नुहुन्छ । यो अवस्थामा दोहोरी साँझले सिर्जना गर्यो कि तपाईंमा जन्मजात प्रतिभा थियो ?
म गरिब किसान परिवारमा जन्मिएकी हुँ । मेरो एक जना दाजु राम्रोसँग बोल्न–सुन्न सक्नुहुन्न । अर्को दाजु सानैमा घर छाडेर हिँड्नुभयो । हामी चार जना दिदी–बहिनी थियौं । आफूहरू रोगी भएका कारण आमा–बुवाले छोरीहरूको चाँडै विवाह गरिदिन थाल्नुभयो । म कान्छी छोरी । दिदीहरूको चाँडै विवाह हुन थालेपछि मैले घरको जिम्मेवारी पूरा गर्नुपथ्र्यो । गाई–बस्तु हेर्ने, घाँस काट्ने, घरको काम गर्ने हुँदा साथी–भाइ त्यति हुँदैनथे । स्थानीय लोकभाका नै मेरा साथी थिए । आफैं गुनगुनाउँदै नाच्दै म यो क्षेत्रमा आएकी हुँ । लोकदोहोरी साँझले काठमाडौंमा बाँच्न र लोकगायिकाको परिचय बनाउन मद्दत गरेको हो ।
आज तपाईं राम्रो पैसा कमाउने गायिकामा पर्नुहुन्छ । घाँस–दाउरा गर्थे, गरिब परिवारबाट आएकी हुँभन्दा अप्ठ्यारो लाग्दैन ?
भएको कुरा किन लुकाउनु ? म घाँस दाउरा गरेरै यहाँसम्म आएकी हुँ । म यसमा गौरव गर्छु । आमा–बुवाले पछि छोरीलाई दु:ख नहोस् भनेर केही सुँगुर, बाख्राका पाठा तथा कुखुरा पेवामा दिनुभएको थियो । म डोको नाम्लो बुन्ने, टपरी गाँस्ने, चकटी–गुन्द्री बुन्ने, सुईटर टोपी सिलाउने सबै काम गर्थे । हामी मरे पनि छोरीलाई दु:ख नहोस् भनेर रात–दिन काम गरेर खान सिकाउनुहुन्थ्यो । आफ्नो पेवा बेचेरै मैले एसएलसीसम्म पास गरेँ । यो त गौरवको कुरा हो नि, किन लुकाउनु ?
गायकका रूपमा परिचय बनाउन तपाईंलाई क–कसले सहयोग गरे ?
म जुन स्कुलमा पढेकी थिएँ, त्यो स्कुलमा गोविन्द केसी सर हुनुहुन्थ्यो । उहाँले मलाई धेरै हौसला दिनुहुन्थ्यो । छोरी मान्छेले आफ्नो खुट्टामा उभिनुपर्छ, नाच–गान, समाजसेवा सबै कुरामा अघि बढ्नुपर्छ भनेर हौस्याउनुहुन्थ्यो । बाल समूहलाई व्यवस्थित गर्न काठमाडौंका केही संस्था गाउँ पुगेका थिए । तीमध्ये डिलु घिमिरेले मलाई काठमाडौं, पोखरा र चितवनजस्ता सहरमा ल्याएर विभिन्न किसिमका तालिम दिनुभयो । त्यतिबेला रेडक्रस सोसाइटीले बालगीत प्रतियोगिता सञ्चालन गथ्र्याे । स्थानीय वागीना समूह पनि थियो । ती संस्थाको सहयोगमा दुई पटक बालगीत प्रतियोगितामा भाग लिन काठमाडौं आए । पहिलो पल्ट दोस्रो भएँ, त्यसपछि प्रथम भएँ । यसरी हेर्दा मलाई शिक्षक एवं स्थानीय पढेलेखेका बाहुन–क्षेत्रीहरूले ठूलो सहयोग गरेको सम्झन्छु ।
तपाईं गायन बाहेक अरू पेसामा पनि करियर बनाउन सक्नुहुन्थ्यो । लोकगीतमै किन आउनुभएको त ?
मेरो पढाइ पनि राम्रो थियो । विभिन्न स्वास्थ्य तालिम लिएकाले म गाउँकी नर्सजस्तै भएकी थिएँ । सबैले डाक्टर्नी भन्नुहुन्थ्यो तर परिवारको अवस्था नाजुक थियो । बुवाको देहान्त भयो । दिदीहरूको विवाह भैसकेको थियो । यस्तो अवस्थामा आमालाई मेरो विवाहको चिन्ता थियो । एक जना प्रहरीले मलाई मन पराएको कुरा थाहा पाएपछि उहाँले विवाह गर्न कर गर्नुभयो । आमाको खुसीका लागि मैले ती प्रहरी जवानसँग विवाह गरें तर त्यति नै बेला देशमा संकटकाल लागेका कारण उहाँले मलाई सँगै लान सक्नुभएन । माइती बस्न मन लागेन । बालगीत प्रतियोगितामा दुई पटक पुरस्कृत भैसकेका कारण काठमाडौं आएर दोहोरीसँग जोडिएँ । सम्भवत: मेरो भाग्यमा गायिका बन्न लेखेको रहेछ ।