नेपाल हवाई खेलकुद संस्था (ना) पोखराको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा असोज ९ र १० गते फेष्टिबल आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
भूकम्पले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले पोखरामा पहिलोपटक आयोजना गरिन लागेको फेष्टिबलमा फ्रान्स, जर्मन, अमेरीका, बेलायत लगायत देशका करिब ५० भन्दा बढी प्याराग्लाईडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर)का पाइलटहरु सहभागि हुने कार्यक्रम संयोजक नतासा श्रेष्ठले जानकारी दिइन् । फेष्टिबलमा प्याराग्लाईडिङ, अल्ट्रालाईट र पावर प्याराग्लाईडिङलाई रंगीविरंगी बनाएर ध्वजापताकासहित सराङ्कोटमा प्रदर्शन गरिने उनले बताइन् ।
उक्त अवसरमा पाईलटहरुले आकाशमा एक्रोव्याट समेत गर्नेछन् । रंगि विरंगी धुँवा समेत उडाइने छ । उनका अनुसार प्याराग्लाईडिङका पाईलटहरु भगवान गणेश, शिव, पार्वती, भगवती, गरुड, लक्ष्मी, लाखे नृत्य लगायतका भेष पहिरिएर आकाशमा उड्ने छन् ।
फेष्टिबलमार्फत भूकम्पपछि नेपाल सामान्य जीवनमा फर्किएको सन्देश विश्व सामू दिँदै पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहसिक खेलको राजधानी पोखरामा खेल गतिविधि यथावत रहेको समेत जानकारी दिने उद्देश्य राखिएको महासचिव बसन्तराज दवाडीले बताए ।
‘ना’का सल्लाहकार नतासा श्रेष्ठको संयोजकत्वमा फेष्टिबलको तयारी सुरु गरिएको कार्यवाहक अध्यक्ष सोवित बानियाले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेले पोखराको साहसिक खेल पर्यटनको विकाशमा यस्ता कार्यक्रमले थप टेवा पुर्याउने बताए ।
फेष्टिबल पोखरा पर्यटन पुनर्जागरण समिति (पीटीटआरसी) को संयोजन, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणको बिशेष सहयोगमा हुन लागेको आयोजकले जनाएको छ ।