काठमाडौं । चाँडो संविधान जारी गर्न सत्ता पक्षसँग सहमति जनाउँदै आएको एकीकृत नेकपा माओवादीले यथास्थितिमा जारी हुने नयाँ संविधान कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने निष्कर्ष निकालेको छ ।
कांग्रेस र एमालेका नेताहरु वार्ताप्रति
उदासीन भइरहेका बेला एमाओवादीले थारु र मधेसी समुदायका जायज मागलाई सम्बोधन
गर्नुपर्नेमा जोड दिएको छ ।
सोमबार बसेको एमाओवादी शीर्ष नेताहरुको
बैठकले थारुसहितका आन्दोलनरत समुदायको माग सम्बोधनका लागि पहल गर्ने निर्णय
गरेको हो । ‘थारु समुदायको जायज माग सम्बोधन गरेर विजय गच्छदारलाई संविधान
निर्माण प्रक्रियामा सहभागी गराउनुपर्छ’ बैठकपछि एक नेताले अनलाइनखबरसँग
भने ।
एमाओवादीले महन्थ ठाकुर र उपेन्द्र
यादवसहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग पनि सहमतिको प्रयास
गर्नुपर्ने ठहर गरेको छ । ‘अन्यथा संविधान कार्यान्वयन चुनौतीपूर्ण हुन्छ’
एक नेताले भने-‘परिस्थिति नकारात्मक दिशातिर जान्छ कि भन्ने डर पनि छ ।’
पछिल्लो समय एमाओवादीमा नयाँ संविधान जारी
गर्ने प्रक्रियाबारे विवाद देखिएको थियो । तर, छिट्टै संविधानसभाबाट
संविधान जारी गर्नुपर्छ भन्नेमा एमाओवादीका शीर्षनेताहरुको एकमत भएका छन् ।
कांग्रेससँग छलफल, प्रधानमन्त्री सकारात्मक
शीर्षनेताहरुको समझदारीपछि एमाओवादीले
सोमबार नै कांग्रेस नेतृत्वसँग छलफल गरेको छ । भेटमा एमाओवादी नेताहरुले
थारु र मधेसी आन्दोलनकारीहरुसँग वार्ता गरेर निकास खोज्नुपर्नेमा जोड दिएका
छन् ।
वार्ता र सहमतिको प्रयास थाल्न प्रधानमन्त्री सुशील कोइराला सकारात्मक देखिएको एमाओवादी नेताले बताएका छन् ।
कांग्रेस र एमाओवादी दुबैले एमालेसँग छलफल
गर्ने र मंगलबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग वार्ता
गर्ने सहमति भएको नेताहरुले बताएका छन् । गच्छदार सोमबार सुनसरी गएकाले
छलफल हुन नसकेको एमाओवादी नेताले बताए ।