भूकम्प पिडितहरूको घर टहरा निर्माण गर्ने कांग्रेसको अभियान

Friday, September 4th,2015
Shiva Rana Magar








.मन्थली । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको नेतृत्वमा रामेछापको भीरपानी गाविसस्थित डप्खा र लाप्काको विपन्न बस्तीमा सामुहिक रुपमा बसोवास गर्नका लागि अस्थायी घर टहरा निर्माण कार्य गरिदिएका छन । यही बैशाख १२, १३ र २९ गते गरी पटक पटक गएको भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त गाउँका भूकम्प पिडितहरूसँग समन्वय गरी पौडेल र उनको नेतृत्वमा त्यहाँ पुगेको कांग्रेसका युवाहरूको टोली टहरा निर्माण अभियानमा जुटेको हो ।

अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्ने केही नेपाली  शुभचिन्तकहरूबाट प्राप्त जस्तापाता सहित टहरा निर्माणका लागि शुक्रवार भीरपानी पुगेको टोली शनिवार दिनभर पनि घर टहरा निर्माणमा व्यस्त रहेको थियो ।
काठमाडौंदेखि प्राविधिक र झण्डै ८० जना युवाहरू लिएर भूकम्प प्रभावित स्थल पुगेका पौडेल आफु पनि दिनभर टहरा निर्माण कार्यमा जुटेका थिए । उनलाई सघाउन रामेछापका नेपाली कांग्रेस सभापति रामचन्द्र खड्का, पूर्व कृषि सहायक मन्त्री रामहरी ढुंगेललगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरू पनि भीरपानीको डप्खामा पुगी  टहरा निर्माणमा सहयोग पु¥याएका कांग्रेस केन्द्रिय सदस्य पौडेलले जानकारी दिए । पार्टीकोे नीति अनुरुप स्वयंसेवकको रुपमा डप्खाका भूकम्प प्रभावितहरूसँग बसेर श्रमदान मार्फत अस्थायी टहराहरू निर्माण गर्न पाउँदा त्यसले आफुलाई अत्यन्त खुसी तुल्याएको पनि पौडेलले बताए ।
भूकम्पबाट अति  प्रभावित विभिन्न जिल्लामा गरी पाँच सय घर टहरा निर्माण गर्ने उद्घोषका साथ गोरखाको मालती गैराबाट ५३ वटा घर टहरा निर्माण गरी रामेछाप आइपुगेका पौडेल नेतृत्वको टोलीले शनिवार साँझसम्ममा भीरपानी गाविसमा २० वटा घर टहरा निर्माण गरेका छन । त्यसका लागि बाँस लगायत टहरा निर्माणमा प्रयोग हुने अन्य सामाग्री भने स्थानीयस्तरमै उपलब्ध गराइएको थियो ।
सिंगो गाउँ नै भूकम्पका कारण ध्वस्त भइरहेको बेला गाउँमा आएर घर टहरा निर्माण गर्ने युवाहरूको फराकिलो मनले डप्खाका मात्र नभएर अभियानका बारेमा जानकारी पाउने जोसुकैले प्रभावित बनाएको स्थानीय इन्द्रमाया माझीले बताइन । उनले भनिन गाउँ युवा बिहिन भइरहेको अवस्थामा गएको भूकम्पले विच्छेद भएको हाम्रो आत्मालाई युवाहरूले गरेको सहयोगले निक्कै खुसी तुल्याएको छ । जसलाई अन्यत्र गाउँमा पनि बिस्तार गर्न जरुरी छ । अभियानमा नेविसंघका पूर्ब केन्द्रिय उपाध्यक्ष गणेश भट्ट, महामन्त्री गजेन्द्र कार्की र कोषाध्यक्ष रामप्रसाद अधिकारी लगायतका युवाहरूको सहभागिता रहेको थियो ।