गायक पशुपति शर्माका बुबा छोरालाई इन्जिनीयर बनाउन चाहन्थे । तर, पशुपतिको नशामा कलाकारिताको रगत थियो ।
कलेज पढ्न काठमाडौं आएलगत्तै उनी
गीत-संगीतमा होमिए । त्यो थाहा पाएपछि बाले टाउकोमा हात राख्दै भने,
‘कान्छो बिग्रीयो । नपढ्ने भयो । अब यसले गरिखाँदैन ।’
कान्छोको कलाकारीतामोह घरभरी चिन्ताको
विषय बन्यो । आमा, दिदीहरु र दाई सबैले उनलाई सम्झाउन थाले । सबैभन्दा धेरै
चिन्तित भईन् उनकी आमा । आमाले फोन गरेर भनिन्, ‘कान्छा तँ यसरी बरालिएर
नहिँड् बाबु । गीत गाएर पनि कतै उँभो लागिन्छ ?’
दिदीले पनि फोन गरेर त्यहि कुरा
दोहोर्याइन्, ‘कान्छा, तैंले के गरेको यस्तो ?’ दाइले फोन गरे भने, ‘तँ
कसको लहै लहैमा लागेर हिँडेको छस हँ ?’
परिवारका सदस्यहरुले तारन्तार फोन गरेर
धुरुक्कै पारेपछि पशुपतिलाई पनि दिक्दार लाग्यो । तर, नशामा रहेको रगत के
गरी सुक्थ्यो, उनले कलाकारीता छाड्नै सकेनन् । बरु कसरी अगाडी जान सकिन्छ
भनेर बाटो खोज्न थाले ।
०५८ सालदेखि दोहोरी रेष्टुरेन्टमा गाउन
थाले उनले । आफूले दोहोरीमा गाउने गरेको कुरा घरमा कसैलाई भनेका थिएनन् ।
जुन दोहोरीमा गाउन गए पनि उनी पहिल्यै सर्त राख्थे । ‘मलाई घरबाट गीत गाउने
अनुमति छैन । मैले गीत गाएको कुरा मेरो परिवारलाई जानकारी नदिनु होला ।
घरवाट कोही आएको बेला म गाउन आउदिँन ।’
घरवाट दिदी, भिनाजु, काका, बा कोही आएको
बेला उनी दोहोरीको नामै लिंदैनथे । उनीहलाई घुमाएर बस्थे । दिदी, भिनाजु,
काका कसैले शंका गरेन ।
०६०/०६१ सालमा भृकुटीमण्डपमा दोहोरी
प्रतियोगिता हुने भयो । पशुपतिले पनि नाम लेखाए । ठिक ११ बजे गीत गाउन
बोलाइएको थियो । बिहानै उठे, नुवाईधुवाई गरेर चिटिक्क परे । कोठाको ढोकामा
ताल्चा लाउन ठिक्क परेका थिए । बा, आमा ढोकैमा देखे ।
पशुपतिलाई
आपत् पर्यो । एक छिन बाआमासित गफ गरिटोपलेर उनले भने, ‘अहो, मलाई त कलेज
जान ढिला भयो ।’ बा खुशी भए । कान्छो फेरि पढाईमा सिरियस भएछ भन्ने लाग्यो
उनलाई । ‘जा न त, किन ढिला गर्छस’ भनेर उनी बाथरुमतिर हिँडे । बा बाथरुममा
छिरेको बेला पशुपतिले दौरासुरुवाल पट्याएर झोलामा हाले ।
भृकुटी मण्डपमा दोहोरी गीत प्रतियोगिता
हेर्नेहरुको भिड थियो । कोही नाँच्दै थिए । उनीहरु कोहि थपडी मार्दै त कोहि
सिटी फुक्दै गायक-गायिकालाई हौसला दिइरहेका थिए ।
‘सिधा अगाडी हेरेको त बा मलाई नै हेेरे
ताली बजाइरहनुभएको रहेछ,’ पशुपति सम्झिन्छन् । छोराले गाउँदै छ भन्ने थाहा
नपाउका उनका बा टिकट काटेरै दोहोरी गीत हेर्न गएका रहेछन् ।
बेलुका बाले सोधेछन्, ‘कान्छा मलाई किन ढाँटेर गएको ? सँगै लगेको भए टिकट त काट्नु पर्दैनथ्यो ।’ पशुपतिले मनमनै आफैंलाई बधाई दिए ।
त्यसपछि बाले उनलाई कहिल्यै गीत-संगीतमा
नलाग् भनेनन् । तर, आमा, दिदी र दाईले चाहिँ अझै चिन्ता गर्छन् । उनीहरु
भन्ने गर्छन्, ‘अरु त सबै ठिकै छ । तर कान्छो बिगि्रयो ।’